भदौरे भिरमा स्कारपिओ दुर्घटनामा ज्यान गुमाउने ५ जनाकै पहिचान खुल्यो
काठमाडौं - ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा ज्यान गुमाएका ५ जनाकै पहिचान खुलेको छ ।
उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार ज्यान गुमाउनेमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की, २६ वर्षीय कर्मे सार्की, ४० वर्षका खड्गबहादुर सार्की, ३५ वर्षकी नरिमाया सार्की र उदयपुर कटारी नगरपालिका ८ शिरीसेका ३० वर्षका महेशबहादुर बिक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । रिजर्भ गरेर गाउँ आएको हुनाले मृतकको पहिचान खुल्न समय लागेको प्रहरीले बताएको छ ।
दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
भैरहवाबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो गएराति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा ब्रेक फेल भएर दुर्घटना भएको थियो । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशैँ मनाउन घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ ।
फेसबुक पेज Like गर्नुहोस