एजेन्सी - अमेरिकामा बढ्दो नश्लीय विभेदका बारेमा राष्ट्रपतिका दुई उम्मेदवारबीच भनाभन शुरु भएको छ ।

अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसाका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिष्पर्धी जो बाइडेनबीच वाक–युद्ध नै चलेको हो ।

ओरिगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शनमा रहेका ‘ब्ल्याक लाइभ्स म्याटर’का प्रदर्शनकारी र ट्रम्पका समर्थकबीच झडप हुँदा चलेको गोली लागेर एक जना मारिएका थिए ।

चुनावी रन्कोमा रहेका राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याटिक मेयर टेड ह्वीलरलाई शहरमा हिंसा र हत्यालाई स्वीकृति दिएको आरोप लगाएका छन् ।

तर बाइडेनले भने पोर्टल्याण्डसहित देशका विभिन्न स्थानमा हिंसा बढ्नुको मुख्य कारक नै ट्रम्प भएको आरोप लगाउँदै परिणामको विचारै नगरी उनले हिंसालाई बढावा दिएको जिकिर गर्नुभयो ।

शनिबार राति ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारीबीचको झडपमा हानेको गोली लागेर एक व्यक्ति मारिएकामा ट्रम्पले मृत्यु हुने व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

मारिनेको पहिचान त खुलाइएको छैन, तर उनी ट्रम्प समर्थक रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएका ट्रम्पले विस्कनसिनको केनोशामा प्रहरीले ढाडमा हानेको सात गोली लागेर मृत्युसँग संघर्ष गरिरहेका ज्याकोब ब्लेकका बारेमा भने केही बोलेका छैनन।

मिनेशोटाको मिनियापोलिसमा गत मे २५ मा प्रहरी ज्यादतीबाट निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइड मारिएपछि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेदविरुद्ध आन्दोलन हुँदै आएको छ । आन्दोलनको केन्द्रमा ओरिगनको पोर्टल्याण्ड शहर बनेको छ ।

राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डका मेयरलाई मूर्ख भन्दै हिंसा भड्किएको आरोप लगाउँदै त्यहाँ संघीय सुरक्षाकर्मी पठाउने बताइसक्नु भएको छ । मेयर ह्वीलरले भने ट्रम्पले नै देशमा विभाजन र घृणा सृजना गरेको जवाफ फर्काएका छन् ।

बाइडेनले भने ट्रम्पले समर्थकहरुलाई हिंसाको मार्ग नअपनाउन अपिल गर्न नसकेको टिप्पणी गर्दै यसबाट उनको कमजोरी झल्केको बताएका छन् ।