काठमाडौं - काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट डेढ करोड रुपैयाँसहित २ जना पक्राउ परेका छन् । सोमबार बिहान साढे ४ बजे नागढुंगा चेक प्वाइन्टबाट उनीहरुलाई १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित  प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा एक भारतीय तथा एक नेपाली रहेका छन् । भारत गोरखपुर घण्टाघर घर बताउने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलवस्तुको बाँडगंगा नगरपालिका ४ का २२ वर्षीय कार चालक संगम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचना पाएको महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २२५९ नम्वरको हुन्डाई कार चेक जाँच गर्दा सो रकम फेला पारेको हो। उक्त रकमको स्रोत खुलेको छैन ।

सो रकम कारको डिक्किमा, स्पेयर टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइएका ३ वटा झोलामा फेला परेको प्रहरीले जनाएको छ।

साथै भारती नागरिक गुप्ताको साथबाट ८६ हजार रूपैयाँ बरामद भएको छ ।  सो रकमको बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।