काठमाडौं,झापा - झापाको भद्रपुर नगरपालिका-२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु-याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।

मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षको थिए । भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन् ।