उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी, सीडीओहरुको बैठक बस्दै
काठमाडौं - काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी भएको छ । पछिल्लो समय बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै निषेधाज्ञाबारे निर्णय लिन मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठक बस्दैछ ।
मुलुकभर कोभिड- १९ सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । सोमबार बसेको जिल्लास्थित कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रले थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको थियो ।
यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि थप कडाइ गर्दै पुन अर्को एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गर्ने तयारी गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा सङ्क्रमित भेटिँदै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस