काठमाडौं - कोरोना भाइरसका संक्रमित बढ्दै जान थालेपछि दोलखा प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आइतबार साँझबाट जिल्ला भित्र आउजाउमा कडाई गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनले बताएको छ । प्रशासनले भदौ १० गते मध्यरातसम्म यो आदेश लागू हुने बताएको छ।  

आइतबार आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले अत्यावश्यक काम बाहेक मानिसहरुलाई घरबाट बाहिर निस्किन रोक लगाएका छन्। यस्तै उनले खाद्यबस्तु, तरकारी, दूध, निर्माण सामग्री बोक्ने गाडी र सञ्चारकर्मीका सवारी बाहेकका सवारीलाई जिल्ला भित्र आउजाउ गर्न पूर्ण रुपमा रोक लगाएका छन्।  

यस्तै खाद्यान्न, तरकारी पसल र दूध डेरीलाई बिहान निश्चित समयमा मात्र खोल्नु भनिएको छ। दोलखामा दुई साताको बीचमा १८ जना संक्रमित फेला परेपछि निषेधाज्ञा जारी गरेको हो।