काठमाडौं - ललितपुर महानगरमा लगाइएको कर्फ्यूबीच शुक्रबार रातो मच्छिन्द्रनाथको क्षमापूजा गरिएको छ।

 रातो मत्स्येन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा मात्र गरेर देवतालाई बुङमती पुर्‍याउने पाटनका विभिन्न १८ जातीय खलस्बीच सहमति भएको छ । जसअनुसार शुक्रबार क्षमापूजा सम्पन्न गरिएको छ । कर्फ्युबीच केही सरोकारवाला व्यक्तिको उपस्थितिमा क्षमापूजा गरिएको हो ।

ज्यापू, ताम्राकार, सिकमी, बाराही, राजोपाध्याय, नापित, कपाली, खड्गीलगायत समाजद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिअनुसार भदौ २१ गते हाल पुल्चोकमा अवस्थित मत्स्येन्द्रनाथको रथ त्यहाँबाट अलि पर रहेको सोह्रखुट्टेपाटीसम्म तान्ने र छ्वयलाबु (नेवार समुदायमा मनाउने एक किसिमको पर्व) मनाउने, २२ गते भु:ज्या (मत्स्येन्द्रनाथ यात्राको क्रममा मनाइने एक प्रकारको पर्व) मनाउने अनि साइत हेर्ने र साइत प्राप्त भएमा २६ गते मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती लगिने उल्लेख छ ।