पोखरा - लमजुङको मध्यनेपाल नगरपालिकामा पहिरोले धन्सार भत्किँदा बाबु–छोरीको ज्यान गएको छ भने एकै परिवारका अन्य दुई सदस्य घाइते भएका छन्।

मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर आएको पहिरोले विष्णुदत्त सुवेदीको दुईतले धन्सार भत्काउँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउँपालिका–१ घनपोखराका टिकबहादुर विक र उनकी कान्छी छोरी विनीता विकको घटनास्थलमै मृत्यु भएको हो ।

लमजुङ प्रहरीका अनुसार दुर्घटनामा परी टिकबहादुरकी श्रीमती सुककुमारी विक र अर्की छोरी अस्मिता विक गम्भीर घाइते भएका छन्।

उनीहरूको पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख ध्रुवप्रसाद शर्माले जानकारी दिएका छन्।

प्रारम्भिक जानकारीअनुसार निरन्तर वर्षापछि कुलो भत्किँदा आएको पहिरोले धन्सार पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको थियो।