काठमाडौ - राष्ट्रपति विद्यादेवी भण्डारी भोली म्यान्मा (म्यानमार)को राजकीय भ्रमणमा जाने भएकी छन् ।

म्यान्मा गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबारदेखि कात्तिक ३ गतेसम्म राजकीय भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नुहुने बताइएको छ ।म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।