मनाङ - विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर, यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो । तर, स्वदेशी तथा विदेशी कोही आएका छैनन् । आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यस ताल कोभिड १९ को महामारीका कारण सुनसान देखिएको छ । यसका कारण पर्यटन व्यवसायकै भरमा निर्भर रहेका मनाङका होटल व्यवसायी पनि अहिले चिन्तित छन् ।

कहिले यो अवस्था सामान्य होला र व्यवसाय सुचारु गरौँला भनेर उनीहरु पर्खिरहेका छन् । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित यस ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ । यस तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यसको लम्बाइ ३ दशमलव ९ किलोमिटर र चौडाइ १ दशमलव ६ किलोमिटर रहेको छ ।

प्राकृतिक छटाले भरिएको यस ताल तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको हो । यस तालबाट अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि विदेशी तथा स्वदेशी पर्यटकको घुइचो लाग्ने गर्छ । यहाँ प्रत्येक याममा १२ हजार देखि १५ हजार स्वदेशी पर्यटकले भ्रमण गर्ने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । गुरुङका अनुसार यस तालमा धरै चलचित्रहरु पनि सुटिङ भएका छन् । नेपाली फिल्मदेखि म्युजिक भिडियो सम्म यहाँ सुटिङका लागि कलाकारहरु आउने गरेका छन् ।

स्वदेशी पर्यटकसँगै तिलिचो तालमा विदेशी पर्यटकको पनि उतिकै भिड हुने गर्छ । मनाङ पुगेका पर्यटक तिलिचो नपुगी कमै मात्र फर्कने गर्छन् । कतिपय पर्यटक तिलिचो तालहुँदै फर्किएर खाङ्सर हुँदै थोराङुला पास गरी मुक्तिनाथ पुग्ने गरेका छन् भने कतिपय तालहुँदै नेसोकुन्डा पास गरी जोमसोम ठिनी पुग्ने गर्छन् । वर्षमा ३० हजार विदेशी पर्यटक भित्रिने गर्छन् र यसमध्ये आधाभन्दा बढी विदेशी पर्यटक तिलिचो पुग्ने गरेको होटल व्यवसायीहरुको भनाई छ ।