काठमाडौं - पर्सामा गत बिहिबार शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ ।

मृत्यु भएको आठ दिनपछि चौरसियाको शव विन्दवासनी गाउँपालिकाको बहुवर्वा घाटमा अन्त्येष्टि गरिएको हो ।

झडपमा परि गम्भिर घाइते भएका चौरसियाको गत शुक्रबार बिहान ९ बजे वीरगन्जको एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि चौरसियाको हत्यामा संग्लनलाई कारबाही गर्न मृतकको परिवारले दिएको जाहेरी प्रहरीले नलिएपछि शवको पोष्टमार्टम हुने सकेको थिएन ।

बिहीबार दिउँसो ३ बजे जिल्ला सरकारी वकिल कार्यालय पर्सामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा १२ जनामाथि जाहेरी दर्तासँगै शुक्रबार बिहान शव बुझेर पोस्टमार्टम भएको हो ।

चौरसियाको पार्थिव शरीरमा नेकपाका नेता एवं पूर्वमन्त्री मातृका यादव, रामचन्द्र झा, प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, नेकपा केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालगोपाल थापालगायतका नेताले पार्टीको झण्डा ओढाएका थिए ।

कार्तिक ६ गते बिहिबार विन्दावासिनी गापा ५ प्रसौनीभाठामा नेकपाको नवनिर्वाचित गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम थियो। मुकेश कमिटीको सचिवमा निर्वाचित भएका थिए। कार्यक्रममा पार्टीकै असन्तृष्ट पक्षले कार्यक्रमस्थलमा पुगेर बिथोल्ने प्रयास गरेका थिए।

त्यही विषयमा दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा मुकेशको टाउँकोमा लाठी लागेको थियो । लाठी लागेका मुकेश घटनास्थलमै ढलेका थिए । घाइते मुकेशलाई तत्कालै उद्धार गरेर वीरगन्जस्थित एसएल न्यूरो अस्पतालमा पुर्याइएको थियो। तर, उनको उपचारकै क्रममा शुक्रबार बिहान ९ बजे मृत्यु भयो।