काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग शनिबार छलफल गर्दैछिन्।

अपराह्न ४ बजे तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी गराएका थिए । 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित र तीनै शीर्ष नेताबीच छलफल भएको थियो।

शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए। 

त्यसअघि मन्त्री खरेलसहित कानूनमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनमा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन र नेताहरूसँग कुराकानी गरेका थिए। 

सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरे पनि दलहरूले शान्ति सुरक्षा लगायत विषयमा प्रश्न उठाउँदै आएका छन्।