काठमाडौं,एजेन्सी - विश्व वरियताका शीर्ष स्थानमा रहेका सर्वियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् । गएराति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई ३–२ को सेटमा पराजित गर्दै जोकोभिच उपाधि चुम्न सफल भएका हुन् । 

जोकोभिचले पाँचौ वरियताका स्टेफानोससँग पहिलो र दोस्रो सेट ६–७ (६–८) र २–६ ले गुमाए तर, त्यसपछि एकपक्षीय प्रदर्शन गर्दै जोकोभिचले ६–३, ६–२ र ६–४ को सहज जित निकाले । यसअघि सेमिफाइनलमा जोकोभिचले राफायल नाडाललाई पराजित गरेर फाइनलको स्थान पक्का गरेका थिए ।

यससँगै जोकोभिचले दोस्रोपटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । यसअघि उनले २०१६ मा फ्रेन्च ओपन जितेका थिए । जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो ।