गठबन्धन बनाएर चुनावमा जाने कांग्रेसको निर्णय
काठमाडौं - नेपाली कांग्रेसले आगामी स्थानीय तहमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धनमा जाने नीतिगत निर्णय सर्वसम्मत रुपमा भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 'स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय बैठकले गरेकाे छ ।' उनले भने ।
नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए । गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको छ ।
गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ । पार्टीको अनुसासन र संसदीय समिति भने पछि बनाइने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि थप छलफल गरेर समिति बनाउने प्रवक्ता महतले बताए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस