काठमाडौं - लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा परि तीन जना घाइते भएका छन्। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । उक्त भूकम्पको धक्काले जिल्लाभर ७ घर आंशिक रुपमा भत्केका छन् । घर भत्किँदा र त्रासले मानिसहरू घरबाहिर निस्किँदा भुलभुलेकी ८५ वर्षीया वृद्धासहित ३ घाइते भएका हुन् ।

घाइतेको अहिले बेशीसहर अस्पतालमा उपचार भइरहेको र स्वास्थ्यअवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यद्यपी प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । 

उक्त भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । यो भूकम्प २०७२ सालको भूकम्पको पराकम्प हो ।