काठमाडौं - खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ ।

पाँच दशक लामो इतिहास बोकेको विभागमा महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठ नियुक्त भएकी हुन्। यसअघि श्रेष्ठ विभागको उप महानिर्देशक  थिइन । विभागका महानिर्देशक सुनिलकुमार दास खानेपानी मन्त्रालय सरुवा भएसँगै विभागको महानिर्देशकमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

श्रेष्ठले आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो । नेपालभित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो ।