काठमाडौं - एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंकाको भिडन्त हुने भएको छ । भारत र श्रीलंका बीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । एसिया कप क्रिकेटमा बलियो इतिहास रहेका दुई टोली उपाधिको लागि नवौँ पटक भारत र श्रीलंका आमुने–सामुने हुन लागेका हुन् ।

हालसम्म भारतले सबैभन्दा धेरै ७ पटक एसिया कपको उपाधि जितेको छ भने भारतपछि श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेको छ ।

उपाधिको लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ । उपाधिका लागि भएका ८ मध्ये ५ प्रतिस्पर्धामा भारत विजयी भएको छ। श्रीलंकाले भारतलाई हराएर ३ पटक उपाधि जितेको छ । एसिया कपको उपाधिका लागि भारत–श्रीलंका आइतबार नवौं पटक एक–अर्काविरुद्ध मैदान उत्रिँदैछन् ।

श्रीलंकाले सन् १९९७, २००४ र २००८ मा भारतलाई हराएर उपाधि जितेको छ। यस्तै, भारतले सन् १९८४, १९८८, १९९०–९१, १९९५ र २०१० मा श्रीलंकालाई हराएर उपाधि जितेको छ ।

एसिया कपमा भारत र श्रीलंका दुवै टोलीको इतिहास कमजोर छैन । तर, वर्तमान भने भारत बलियो छ । अहिलेको स्थितिमा पनि दुवै टोली बलियो स्थितिमा नै छन्।

फाइलन खेलको यात्रा तय गर्दासम्म अपराजित रहेको भारत सुपर फोरको अन्तिम खेलमा भने बंगलादेशसँग ६ रनले पराजित भएको थियो । समूह चरण र सुपर फोरका दुवै खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको थियो ।

लामो ब्याटिङ लाइनअप रहेको श्रीलंकाले भारतले बलिङमा पनि राम्रै चुनौती दिने देखिएको छ । श्रीलंकासँग कुसल परेरा, समवीरा र असालंका जस्ता मध्यक्रमका भरपर्दा ब्याटरहरु छन् । विकेट किपर कुसल मेन्डिस पनि राम्रा ब्याटर हुन् । यस पटकको एसिया कपमा उनले २९० को आँकडा बनाएका छन् । पछिल्ला ४ खेलमध्ये उनले ३ खेलमा अर्धशतक पार गरेका छन् ।