काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालका बारेमा भ्रामक प्रसारप्रसार गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद व्यक्त गरेको छ ।

शुक्रबार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गरी अनर्गल सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमहरूको प्रसारण रोकेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् ।

‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’ उनले भनेका छन्, ‘आगामी दिनमा समेत सरोकारवालाहरुबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्ने गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुने मन्त्रालय विश्वास व्यक्त गर्दछ ।’

भारतीय सञ्चार माध्यमले केही दिन यता नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक सामग्री प्रशारण गरेपछि नेपालमा प्रतिवन्ध लगाउनुपर्ने माग बढिरहेको थियो । त्यसपछि बिहीबार नेपालका केबल अपरेटरहरूले भारतीय समाचार च्यानलहरू बन्द गरेका थिए ।