काठमाडौं - ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा ६५ वर्षिया महिलाको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

'ती महिलालाई यहि साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो । ललितपुर बासिन्दा ती महिला हालै वीरगन्जबाट आएकी थिइन् । उपत्यका प्रवेशसँगै स्टार अस्पतालमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनियाको समेत बिरामी रहेकी ती महिलालाई ६ गतेदेखि आइसीयूमा राखेर उपचार भैरहेको थियो । सोहि क्रममा शुक्रबार बिहान मृत्यु भयो' स्रोतले भन्यो ।

मृतकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।