काठमाडौं - काठमाडौं जिल्ला प्रशासन कार्यालयले खाना पकाउने ग्यास लुकाएर राख्ने तथा सहज रूपमा बिक्री नगर्ने विक्रेता र वितरकमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

काठमाडौंमा ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि प्रशासनले ग्यास विक्रेता तथा वितरकलाई ग्यास प्राप्त हुनासाथ जुनसुकै समयमा उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत ग्यास उद्योगी वा डिलरबाट प्राप्त ग्यास तत्काल उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको जनाएको छ।

प्रशासनले काठमाडौं जिल्लाभर ग्यासको बिक्री–वितरण अवस्थाबारे सघन अनुगमन भइरहेको जनाएको छ। सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर बिक्री गरेको पाइएमा कालोबजारीसम्बन्धी कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

त्यस्तै, ग्यास भण्डारण गरी लुकाउने, स्टक राखेर बिक्री नगर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको पाइएमा अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने प्रशासनले जनाएको छ।

ग्यासको स्टक लुकाएर बिक्री नगरेको वा कृत्रिम अभाव सिर्जना गरेकोबारे जानकारी भए तत्काल प्रशासनलाई सूचना दिन पनि उपभोक्तालाई आग्रह गरिएको छ।

यस्तो सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा फोन गरेर दिन सकिनेछ।