काठमाडौं,एजेन्सी - बायर्न म्युनिख तथा पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले 'फिफा द बेस्ट' अवार्ड जितेका छन् । उनले पिएसजी स्टार लियोनल मेसी र लिभरपुल स्टार मोहम्मद सलाहलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् । 

उनले पोर्चुगीज स्टार रोनाल्डोसँगै बराबरी गरेका छन् । दुबैले समान दुई-दुई पटक अवार्ड जितेका छन् । 

बुन्डेसलिगामा ४१ गोल गरेका लेवान्डोस्कीले लियोनल मेसी र मोहम्मद सलाहलाई पछि पारे । यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितेकी छन् । 

यस्तै, चेल्सीका प्रशिक्षक थोमस टुकेलले 'वर्ष प्रशिक्षक' अवार्ड जिते । उनले म्यान्चेस्टर सिटीका पेप गर्डिवाला र इटालीका रोबर्टो मान्सीनीलाई पछि पारे । चेल्सी तथा सेनेगलका एडुआर्ड मेन्डी 'वर्ष गोलकिपर' बने । उनले इटालीका डोनारुम्मा र जर्मनीका मान्युएल नोएरलाई पछि पारे । यस्तै, सेभियाका फरवार्ड एरिक लामेलाले 'पुस्कास अवार्ड' जिते ।

उनले टोटेनहमबाट आर्सनलविरुद्ध गरेको गोलले उक्त अवार्ड जितेका हुन् । यस्तै डेनमार्क टिम र स्टाफले 'फेयर प्ले' अवार्ड जितेको छ । डेनमार्क र फिनल्याण्ड दुबै देशका फ्यानहरुले 'बेस्ट फ्यान अवार्ड' जिते । उनीहरुले युरो २०२० मा क्रिस्टियन एरिक्सनको कार्डियक अरेस्ट भएको बेला सपोर्ट गरेका थिए । सन् २०१६ देखि अवार्ड वितरण गर्दै आइएको छ ।