विश्वकप खेल्ने यू–१९ नेपाली महिला क्रिकेट टोलीको बिदाई
काठमाडौं - मलेसियामा आयोजना हुन लागेको यू–१९ टी– २० विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाई गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो ।
नेपाली यू–१९ महिला टोली शनिबार मलेसिया प्रस्थान गर्ने छ । शुक्रबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु वर्माले शुभकामनासहित यू–१९ महिला टोलीको बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे । मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भएपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै यू–१९ टोलीकी कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रशिक्षक महेश प्रसाद रिजालले पनि प्रतियोगिताका लागि राम्रो तयारी भएको बताए । ‘हामीले चितवनमा पनि राम्रो प्रशिक्षण गर्यौं, विश्वकपमा क्षमता प्रदर्शन गर्ने अवसर छ, राम्रो प्रदर्शन हुनेछ भन्ने आशा छ’, रिजालले भने ।
सिनियर महिला टिमकी कप्तान इन्दु बर्माले विश्वकपमा छनोट भएर इतिहास रचेकोमा बधाई दिँदै विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेर आउन शुभकामना दिइन् ।
नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ छन् रहेका छन् ।
उक्त प्रतियोगिता जनवरी १८ देखि फेब्रुअरी २ तारिखसम्म हुनेछ । प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।
उक्त समूहमा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । यसैगरी, प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसिया, भारत, श्रीलंका र वेस्टइण्डिज रहेका छन् । समूह ‘बी’ मा इङ्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका रहेका छन् ।
त्यसैगरी समूह ‘सी’ मा न्युजिल्याण्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका रहेका छन् । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल जनवरी १८ तारिखमा बंगलादेशसँग खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेल जनवरी २० तारिखमा स्कटल्याण्डसँग र तेस्रो खेल जनवरी २२ तारिखमा अस्ट्रेलियासँग खेल्ने तालिका छ ।
फेसबुक पेज Like गर्नुहोस