काठमाडौं - भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै फाइनल पुग्न असफल भएको छ ।

गोवास्थति जवाहरलाल नेहरु स्टेडियममा नेपालले पहिले अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

नेपाल दोस्रो पटक साफमा सेमिफाइनलबाटै बाहिरिएको हो भने बंगलादेशसँग पछिल्लो तीनवटै संस्करणमा नेपाल लगातार पराजित भएको हो ।

गीता रनाले २२औं मिनेटमा गोल गर्दै नेपाललाई पहिले अग्रता दिलाएकी थिइन् । तर बंगलादेशले पहिलो हाफमै बराबरी गोल फर्कायो ।

रितु पवर्ना चक्माले पहिलो हाफको इन्जुरी टाइममा कर्नरबाट ओलम्पिको गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन् । खेल बराबरीतर्फ अघि अढिरहेको अवस्थामा बंगलादेशले दोस्रो हाफको इन्जुरी टाइममा विजयी गोल गर्‍यो ।

सामसुनाहरको क्रसमा सरोगिकाले गोल गर्दै बंगलादेशलाई जित दिलाइन् ।पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेपनि सेमिफाइनलमै पराजित भएपछि यसपटक पनि नेपालको लक्ष्य पूरा हुन सकेन ।