काठमाडौं - काठमाडौंको बौद्धबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले आइतवार राति बौद्धस्थित एक रेष्टुरेन्टमा छापा मार्ने क्रममा ८ महिला र ६६ पुरुष गरी ७४ जना पक्राउ परेका हुन् । छापा मार्ने क्रममा उनीहरुको साथबाट प्रहरीले ६ लाख १९ हजार रुपैयाँसहित खेलमा प्रयोग गरिने  मोबाइल तथा बिङ्गो खेल्न प्रयोग गरिने कुपन बरामद गरिएको छ । 

हाल पक्राउ परेकाहरुमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत “जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने” कसूर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ । 

यसअघि अनलाइनमार्फत् जुवा खेलाएको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुरबाट १२ जनालाई पक्राउ गरेको थियो । उनीहरूले फेसबुकमार्फत् अमेरिकन तथा युरोपियन नागरिकहरूलाई साथी बनाएर फायर किलिङ, रिभर स्विप्स, रिभर मन्स्टर, भेगास-एक्स लगायत अनलाइन जुवा खेलाउने गर्थे। उनीहरूले महिनाको करिब एक लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको खुलेपछि प्रहरीले अनुगमनमा कडाइ गरेको थियो ।