काठमाडौं - नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च अदालतको गेटमै रोक्ने रणनीति लिएको छ । बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो। 

हस्तक्षेपसँगै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागको आन्दोलनको स्वरूपमा परिवर्तन गरेको थियो । आन्दोनरत कानुन व्यवसायी सर्वाेच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको थियाे जसमा बारका महासचिव लिलामणि पौडेल,  पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई सामान्य घाइते भएका भएका थिए । 

उक्त प्रहरी दमनको विरोधमा शुक्रबार सम्पूर्ण इजलास बहिष्कार गर्ने बारले निर्णयसमेत गरेकाे छ ।  साथै, शुक्रबार बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई ‍प्रवेश गर्न नदिन धर्ना दिइने बार महासचिव लीलामणि पौडेलले बताए । बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान गरिसकेको छ । 

नेपाल बार प्रधानन्यायाधीश जबराकाे राजीनामा माग गर्दै चरणवद्ध आन्दाेलनमा छ ।