ड्युटीमै रहेका सशस्त्र प्रहरी सहायक हवल्दारको ट्रकको ठक्करबाट मृत्यु
बर्दिया - बर्दियामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि ट्रकले ठक्कर दिँदा एक सहायक हवल्दारको ज्यान गएको छ भने एक जवान घाइते भएका छन्।
आइतबार बिहान बाँसगढी नगरपालिका–५ मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा बाँसगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपक कुमार जंग शाह घाइते भएका छन्।
प्रहरीका अनुसार ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा ५७ नम्बर पिलर नजिकबाट २ भैंसी र १ पाडा नियन्त्रणमा लिएको थियो ।
ती चौपायालाई गुलरिया भन्सार पुर्याउने क्रममा गुलरिया नगरपालिका–११ लालपुर क्षेत्रमा आइतबार बिहान करिब सवा ५ बजे पछाडिबाट ट्रकले ठक्कर दिएको हो।
नेपालगन्जबाट गुलरियातर्फ आउँदै गरेको बा।प्र। ०३–००१ ख १४१२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुवै प्रहरी गम्भीर घाइते भएका थिए। तत्काल बर्दिया अस्पताल पुर्याइएका कडेललाई चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते जवान शाहलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको छ। उनीहरूको सशस्त्र प्रहरी फर्वार्ड अपरेटिङ बेस गणेशपुरमा कार्यरत रहेको जनाइएको छ।
दुर्घटनामा नियन्त्रणमा लिइएको एक भैंसीसमेत मरेको प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुर बागमती गाउँपालिका–५ समरी (हेटौंडा) का ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएका छन्। उनको बर्दिया अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी रेशम बोहराले जानकारी दिएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस