रुपन्देही - पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि उच्च अदालतले भने तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।

सरकारी लेटरप्याड दुरुपयोग गरेको र सार्वजनिक क्षेत्रमा पोखरी निर्माण गरेको आरोपमा उनीमाथि उजुरी परेपछि जिल्ला अदालतबाट २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो तर आज उच्च अदालत तुलसीपुर बुटवल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायधीश सानुमैया डंगोलको इजलासले तत्काल पक्राउ नगरी दुवै पक्षलाई साउन २९ मा छलफलका लागि बोलाउने अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

जिल्ला अदालत नवलपरासीबाट साउन २० गते यादवको नाममा पक्राउ पूर्जी प्रहरीले पाएपनि त्यसलाई गोप्य राखेको थियो ।

गण्डक क्षेत्रमा पोखरी बनाउन नक्कली लेटर प्याडको प्रयोग गरेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो ।

उता उच्चले यस्तो आदेश आएसँगै उनीविरुद्ध मुद्दा अघि बढाएका गण्डक भूआर्जन अधिकृत सोभित हलुवाईले पालिका अध्यक्षलाई ५ बजेसम्म प्रहरीले पक्राग नगरे परासीको बुद्धचोकमा आत्मदाह गर्ने चेतावनीसहितको स्टाटस सामाजिक सन्जालमा लेखेका छन् ।