काठमाडौं,एजेन्सी - दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्वियासँग बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्वियासँग २–२ गोलको बराबरी खेलेको हो । 

खेलको तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । आठौं मिनेटमा लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । तर, उक्त अग्रतालाई अर्जेन्टिनाले कायम राख्न सकेन ।

५१औं मिनेटमा लुइस मुरीएलले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २-१ को स्थितिमा ल्याए । त्यसपछि इन्ज्युरी समयमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्वियालाई हारबाट जोगाए । 

बराबरीसँगै तालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ६ खेलमा १२ अंक जोडेको छ । कोलम्बिया भने ६ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।