काठमाडौं - इंग्लिस क्लब लिभरपुलले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब ओसासुनालाई ३–१ ले पराजित गरेको हो । 

खेलको १४औ मिनेटमा ओसासुनाका जेसस एरेसोले आत्मघाती गोल गरेपछि लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । २१औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा फिर्मिनोले व्यत्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-०को अग्रता दिलाए । 

त्यसपछि खेलको ७०औं मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई खेलमा फर्काउने कोसिस गरेपनि लिभरपुल ३–१ ले विजयी बन्यो । लिभरपुल र ओसासुनाले १४ अगस्टमा नयाँ सिजनको सुरुवात गर्दैंछन् ।