काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने टिप्पणी गरेका छन् ।

युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी गरे ।

ओलीले राजतन्त्र फर्काउँछु भन्नेहरू चेतना नभएका मुर्खहरू भएको टिप्पणी गरे । कामै नलाग्ने चिज भएको भन्दै जनताले १५ वर्षअघि नै राजतन्त्र फ्याँकेको उनको भनाइ छ।

अध्यक्ष ओलीले भने,’केही तत्वहरू १५ वर्षअघि फालिसकेको, हेर्दा हेर्दा वाक्क दिक्क भएर जनताले पाल्न नसकिने रहेछ। काम लाग्ने चिजै रहनेछ भन्दै फालेको राजतन्त्र फर्काउने कुरा गर्दैछन् । चेतना नै नभएका मान्छेहरूले राजतन्त्रको कुरा गर्छन्। नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने त्यो चेतना मूर्खता हो।’

मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नु मुर्खता सिवाय केही नभएको उनले बताए। उनले राजनीतिकरूपले, वैचारिकरूपले, सैद्धान्तिकरूपले कुनै पनि हिसाबले राजतन्त्र मान्न नसकिने बताए।

उनले अरु देशमा जे भए पनि नेपालमा राजतन्त्र काम नलाग्ने बताए। यस्तो देश अर्को देशमा मिसाइदिए सस्तोमा साइकल किन्न पाइन्छ भन्नेहरू बिकाउ मालहरू भएको उनको भनाइ छ।