काठमाडौं - निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अस्वीकृत गरेको छ । सोमबार सोमबार साँझ नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको संसदीय समितिको बैठकमा प्रधानलाई अस्वीकृत गरेको हो ।

प्रधानमा निर्वाचन आयुक्त हुने उच्च नैतिक चरित्र नदेखिएको भन्दै उजुरी परेको थियो । प्रधानमाथि एक महिलाले यौन शोषण गरेको र अदालतमा मुद्दा दायर गरेपछि पैसा दिएर मिलापत्र गराएको भन्दै उजुरी गरेकी थिइन् ।

त्यसैको आधारमा समितिको बैठकले प्रधानलाई अस्वीकृत गरेको हो । समितिको कार्यविधिमा कुनै पनि व्यक्तिलाई स्वीकृत वा अस्वीकृत गर्ने मात्रै व्यवस्था गरेको भन्दै उक्त निर्णय गरेको हो ।

संसदीय सुनुवाइ समिति सदस्यसमेत रहेकी एमाले सचेतक सुनिता बरालले प्रधानलाई निर्वाचन आयुक्तमा अस्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

उनका अनुसार समितिको कार्यविधिमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने भन्ने व्यवस्था मात्रै रहेकाले प्रधानको नाम सर्वसम्मतिले अस्वीकृत गरिएको हो । प्रधानले आफ्नो नाम फिर्ता लिनका लागि भन्दै सोमबार मात्रै निवेदन दिएका थिए । निवेदन पनि समितिको निर्णयमा उल्लेख गरिएको बरालले जानकारी दिइन् ।