काठमाडौं - काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय आज मध्यरातबाट सकिँदै छ । सोही कारण आज निषेधाज्ञाको मोडालिटीको बारेमा निर्णय हुने भएको छ । 

लामो समयको लकडाउन तथा निषेधाज्ञाले पनि कोरोना संक्रमण नियन्त्रण नभएको साथै अर्थतन्त्र पनि धरासयी भएको भन्दै यसको विरोध भएको छ । निषेधाज्ञा थप थप गर्ने वा खुकुलो पार्ने विषयमा मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ। मंगलबारको बैठकमा विभिन्न विकल्पमाथि छलफल भएको बताइएको छ ।

विकल्पहरुमा उपत्यकामा निजी सवारी साधन जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने, निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्नेगरी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुन लागेको बताइएको छ ।

निषेधाज्ञाले कमजोर आर्थिक अवस्था भएकाहरुको दैनिकी झनै नाजुक बन्दै गएको, साथै व्यवसायीहरु पनि मारमा परेको भन्दै आक्रोश बढ्दै जाँदा यसको मोडालिटी परिवर्तन हुन लागेको बताइएको छ । सोमबार मात्र गृह मन्त्रालयले सुरक्षा मापदण्ड अपनाएर निषेधाज्ञालाई खुकुलो पार्नुपर्ने सुझाव दिएको थियो। आम नागरिकको आवाजलाई सम्बोधन गर्नेगरी बुधबार रातिबाट लागू हुने गरी नयाँ मोडलमा निषेधाज्ञा हुन लागेको बताइएको छ ।

यसैबारेमा आज बस्ने तीन जिल्लाका सीडीओहरुको बैठकले निर्णय गर्नेछ । भदौ ३ गतेबाट १० गतेसम्म पहिलो चरण, १० गतेपछि १७ गतेसम्म दोस्रो र १७ गते राति १२ बजेदेखि २४ गतेसम्म गरेर तीन पटक थप भएको निषेधाज्ञाको अवधि चौथो पटक मोडालिटी परिवर्तनसहित थप हुन लागेको हो।