काठमाडौं-काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरुको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन चेकजाँचमा कडाइ गरेको छ ।

विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र ब्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने भएका हुन् । उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाइनेछ ।

कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस बर्ष उपत्यका प्रवेश गर्ने नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ।

त्यस्तै ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिने तथा दुर्घटनारहित होली पर्व मनाउन र उच्छृखल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना रहेको छ।

यसका लागी ९ सयभन्दा बढी ट्राफिक प्रहरी खटिने ट्राफिक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।