काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा सरकारले धरपकड गरे पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै डा. कोइरालाले देउवा साउन २६ गते स्वदेश फर्किने र साउन २९ देखि ३१ गतेसम्म हुने राष्ट्रिय भेलामा सहभागी हुने जानकारी दिए । देउवालाई स्वदेश फर्किएलगत्तै सरकारले धरपकड गर्न सक्ने चर्चाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले त्यस्तो सम्भावना नरहेको दाबी गरे । तर, धरपकड गरिएमा पार्टी चुप लागेर नबस्ने उनको चेतावनी थियो ।
“यदि धरपकड गरिएमा पार्टीले कडा प्रतिवाद गर्नेछ,” उनले भने । डा. कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकोप्रति खुशी व्यक्त गरे । पूर्वसभापति देउवाका तर्फबाट दायर न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले साउन २१ गते पुनरावलोकनको अनुमति दिएको थियो । सर्वोच्चको आदेशको स्वागत गर्दै उनले आगामी न्यायिक प्रक्रियाबाट पार्टीले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताए । पछिल्लो आदेशले राष्ट्रिय भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने, बरु पार्टीका नेता–कार्यकर्तामा थप उत्साह पैदा गरेको उनको भनाइ छ ।

.gif)


