भक्तपुर - मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

ती महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि यही भदौ ३ गते अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

मृतक महिलाका श्रीमान्सहित परिवारका अन्य दुई जनामा पनि संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा राखिएको बताइएको छ । यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १० जना पुगेका छन् । तीमध्ये पाँच मध्यपुरथिमि, चार सूर्यविनायक र एक जना भक्तपुर नगरपालिकाका हुन् ।