काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो फेक एकाउन्ट खोलेर गलत सूचना प्रवाह भएको जानकारी दिएका छन् ।

मंगलबार साँझ घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुग्यो । राष्ट्रिय मिडियाहरुले समेत बिना पुष्टि सोही ट्वीटलाई आधार बनाउँदै समाचारहरु तयार गरेका थिए ।

हाल बन्द गरिएको @kulman_ghising7 नामक ट्वीटर ह्यान्डलबाट घिसिङको पुनःनियुक्ति भएको जानकारी गराइएको थियो । तर, घिसिङले भने आफ्नो फेक अकाउन्ट खडा गरी गलत समाचार सम्प्रेषण भएको स्पष्ट पारेका छन् । घिसिङले भनेका छन्, ‘मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेसन भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु ।’

घिसिङलाई उक्त पदमा पुनर्नियुक्ति गर्न चौतर्फी आवज उठिरहेको बेला ऊर्जामन्त्री वर्षमान पुनले भने प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको स्पष्ट पारिसकेका छन् ।