काठमाडौं - सरकारले सबै निजी तथा सरकारी अस्पताललाई कुल शय्याको ५० प्रतिशत शय्या काेराेनाका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाललाई सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्पतालले कम्तिमा ५० प्रतिशत शय्या कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन भएकाे जानकारी दिएका हुन् ।

यसअघि निजी सहकारी र सामुदायिकमा २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या छुट्याउनु पर्ने व्यवस्था थियो । मन्त्रालयले उक्त निर्णय परीवर्तन गर्दै ५० प्रतिशत पुर्‍याएको हो ।

यस्तै, सरकारले कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र उपचार निःशुल्क हुनेछ ।

यदी उनीहरुको कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय भएको छ । यसअघि सरकारले कोरोना संक्रमितको नि:शुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो। 

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ९२ हजार १६६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ३२६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।