काठमाडौं - जिल्ला प्रहरी परिसर काठमाडौंले पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँस्थित सडकमा ४६ वर्षीय गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भन्ने संजिव तामाङ र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदान छन्।

संजिवलाई मंगलबार र दिलबहादुरलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनीहरु पुण्य गौतममाथि रड प्रहार गरी घाइते बनाएर फरार रहेका थिए । उनीहरूबाट प्रहरीले एउटा रड र तीन वटा मोबाइल पनि बरामद गरेको छ।

उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए । पक्राउ परेका दिलबहादुर गङदाङ मुख्य योजनाकार हुन्।

उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक समेत हुन्।