काठमाडौं - निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै आउँदो माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत गरिएको हो ।

प्रकाशितअनुसार मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरु सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछन् र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। मतदाता नामावली आयोगको वेबसाईट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ। 

पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ । मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुनेछ ।

मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य पुस २७ गते दुई बजे सम्पन्न हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न नपाउने पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।