काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भगवान रामको आत्मीय सम्बन्ध रहेको बताएका छन् ।

बुधबार अयोध्यामा राममन्दिर निर्माणको औपचारिक शिलान्यासपछि मोदीले रामसँग आत्मिय सम्बन्ध नेपालकी माता जानकीसँग जोडिएको बताएका हुन् । उनले भारतबाहेक दर्जनभन्दा बढी देशमा राम स्मरण हुने गरेको पनि बताए । राम भारतीय संस्कृतिको आधार भएको बताउँदै मोदीले हरेक भारतीयको मन र मस्तिष्कमा भएको जनाए ।

केहीसमय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा राम जन्मेको अयोध्या नेपालको वीरगन्ज छेउमा पर्ने अभिव्यक्ति दिएपछि चर्को आलोचना भएको थियो । जसमा परराष्ट्र मन्त्रालयले नै प्रष्टीकरण दिएको थियो ।

मोदीले मन्दिर निर्माण स्थलमा चालिस किलोका पाँचवटा चाँदीको इँटा राखेर तीन तले मन्दिरको औपचारिक शिलान्यास गरे । हेलिकप्टरबाट अयोध्या गएका मोदीले भूमि पूजाअघि हनुमानगढीमा पूजा र आरती गरेका थिए ।