एसीसी महिला प्रिमियर कपमा नेपालको शानदार जित, कतार ८ विकेटले पराजित
काठमाडौं - एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ ।
मलेसियाको कोलेज तान्कु जाफर ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रनमै अलआउट भयो ।
कतारले दिएको ७७ रनको विजय लक्ष्य पछ्याएको नेपालले १०.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनर ब्याटर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् ।
उनले ३० बलमा ४ चौका प्रहार गरिन्। दोस्रो विकेटका लागि पूजा महतो र बिन्दु रावलले ४१ रनको साझेदारी गरे। पूजा महतो २८ रनमा अविजित रहिन्। कप्तान इन्दु बर्मा ५ बलमा १ चौकासहित ६ रनमा अविजित रहिन्।
कतारका लागि बलिङतर्फ साहिरिननवाब खान र खादिजा अहमदले १-१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको कतारको लागि ओपनर ब्याटर गीतरुड चान्दिरुले सर्वाधिक २५ रन बनाइन् उनले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरिन्।
पहिलो विकेटका लागि दुई ओपनरद्वय फातिमा मुकादमसँग उनले ३५ रनको साझेदारी बनाएकी थिइन्। सुरुवात मध्यम भएपनि त्यसपछि भने कतारले लय समाउन सकेन ।
कप्तान आयशाले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् फलस्वरूप कतार ७६ रनमा रोकिएको थियो।
नेपालको लागि बलिङतर्फ रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन्। कविता कुँवर, रिया शर्मा र पूजा महतोले १(१ विकेट लिए।
नेपालले अब आफ्नो दोस्रो समूह खेल भुटानसँग खेल्नेछ । प्रिमियर कपमा सेमिफाइनल पुग्ने टोलीहरू एसिया कपका लागि छनोट हुनेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस