काठमाडौं - बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर ह्यान्डल निष्क्रिय बनाएकी छन्।

सिन्हाले नकारात्मकताबाट टाढा रहन र आफ्नो मानसिक स्वास्थ्यको सुरक्षाका खातिर ह्यान्डल निष्क्रिय बनाउने निर्णय गरेको जनाएकी छन्।इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले यसको जानकारी दिएकी हुन्।

इन्स्टाग्राममा उनले आफ्नो ट्विटर पोस्टको स्क्रिनसट राख्दै माइक्रो ब्लगिङ् साइटबाट टाढा भएको जानकारी दिएकी छन्।'मेरो मानसिक स्वास्थ्य बचाउन र नकारात्मकताबाट टाढा रहन मैले आफ्नो पहिलो कदम उठाइरहेकी छु। म मेरो ट्वीटर एकाउन्ट निष्क्रिय गर्दैछु', स्क्रिनसट गरिएको पोस्टमा लेखिएको छ।

योसँगै उनले आफ्नो इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएकी छन्।'डढेलो लागोस् बस्तीमा, म मेरो मस्तीमा। अलबिदा ट्विटर', उनले लेखेकी छन्।

यसै साता फिल्म निर्माता शशांक खेतानले पनि आफ्नो ट्विटर ह्यान्डल बन्द गरेका थिए। उनले ट्विटरले घृणा र नकारात्मकता फैलाउने ठाउँका रूपमा काम गरेको भन्दै ह्यान्डल बन्द गरेको बताएका थिए।हालै बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि निर्माता-निर्देशक करण जोहर, आलिया भट तथा सलमान खान लगायतका बलिउड सिनेकर्मी ट्रोल र आलोचनाको शिकार भइरहेका छन् भने उनीहरूलाई अनफलो गर्ने लहर सुरू भएको छ।

सुशान्तको आत्महत्यापछि बलिउडमा परिवारवाद हाबी भएको र गैर-फिल्मी पारिवारिक पृष्ठभूमि भएकाहरू विरूद्ध फिल्मी पृष्ठभूमिका बलिउडकर्मीले मोर्चाबन्दी  र सिन्डिकेट गर्ने गरेको आरोपले उचाइ लिइरहेको छ।