काठमाडौं - पर्साको वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण समुदायमै देखिन थालेको र भारतबाट नेपाल आउने क्रम पनि नरोकिएपछि जिल्ला सुरक्षा समितिले शनिबार बिहानैदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकमा भारतसँग सीमा जोडिएको वीरगञ्जमा भारततर्फ जाने र आउने क्रम बढिरहेको निष्कर्ष निकालिएको छ ।

यता समुदायस्तरमा संक्रमण देखिन थालेको र अर्कोतर्फ कोरोना संक्रमण उत्कर्षमा पुगेको भारत जाने आउने क्रम नरोकिएपछि निषेधाज्ञाको विकल्प रोजिएको बैठकमा सहभागी एक सहभागीले जानकारी दिए ।

थप जोखिमलाई रोक्न सूचना जारी नहुञ्जेललाई निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।