काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख काट्ने काम भइरहेको छ ।

रुख काट्ने काम सकिएपछि निर्माण उपकरण प्रयोग गरी पहिरो हटाइने मन्त्रालयले जनाएको छ ।

पहिरो पन्छाउन आवश्यक उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको छ । सडकलाई छिटो सञ्चालनमा ल्याउने उद्देश्यले कामलाई तीव्रता दिइएको मन्त्रालयको भनाइ छ ।

कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकाको आपूर्ति व्यवस्था प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा उपत्यका आवतजावत गर्ने यात्रुसमेत समस्यामा परेका छन् ।

सडक अवरुद्ध भएको मौका छोपेर बजारमा केही वस्तुको कृत्रिम अभाव सिर्जना हुन थालेको समेत देखिएको छ ।