काठमाडौं - राष्ट्रिय सभा उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता गरिंदैछ ।

संसद् सचिवालयले त्यसका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरेको छ । संसद् भवनको ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए ।

त्यस्तै, सवा ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि एक वर्षदेखि राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त छ ।

सत्ता पक्षबाट नेकपा (माओवादी केन्द्र) की नेतृ उर्मिला अर्याललको उम्मेदवारी तय भएको बुझिएको छ । तर, विपक्षी नेपाली कांग्रेस भने अझै पनि अलमलमै छ । कांग्रेस, नेकपा ९एकीकृत समाजवादी० लगायतका विपक्षी दलहरुको आइतबार बिहान बस्ने बैठकले उम्मेदवार तोक्ने छ ।