काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनमात्र बनाउन सक्यो ।

पोखराका कप्तान कुशल भुर्तेलले ५३, जिम्मी निशमले ४७ र डेन डउथवेटले ३७ रन बनाए । सुदूरपश्चिमका हर्मित सिंहले २, दीपेन्द्रसिह ऐरी, नरेन साउद, हेमन्त धामी, स्कट कुग्गेलिजन र अविनाश बोहराले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९३ रन बनायो । सुदूरपश्चिमका जोश ब्राउनले ६८, विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ रन बनाए । पोखराका जेम्स निशमले ३ विकेट लिए ।

प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पोखरा पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई हराउँदै विजयी शुरुआत गरेको थियो ।

एनपीएलमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी लायन्स, चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स गरी ८ वटा टोली सहभागी छन् । मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म चल्नेछ ।