काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने जानकारी दिएका हुन् । प्रचण्डको भनाई उद्धृत गर्दै महराले भने,  ‘अध्यक्षले समसामयिक विषयमा रिपोर्टिङ गर्नुभयो । अध्यादेशको कारणले डिले भएको थियो । अब त्यो काम करिब करिब सिद्धियो । आज वा भोलिभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ भन्नुभयो ।’ 

साथै, राजनीतिक दल सम्बन्धी अध्यादेशलाई अर्को विधेयक ल्याएर प्रतिस्थापन गर्ने तयारी रहेको पनि उनले जानकारी दिए।