अष्ट्रेलियाविरुद्ध बंगलादेशलाई ऐतिहासिक टी-ट्वान्टी सिरिज
काठमाडौं - अस्ट्रेलियालाई लगातार तेस्रो खेलमा हराउँदै घरेलु टोली बंगलादेशले पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा कब्जा जमाएको छ । शुक्रबार भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको अष्ट्रेलिया २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रनमै समेटियो । अष्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक अर्धशतकीय इनिङ्स खेले । उनले ४७ बलमा ६ चौका र १ छक्का सहित ५१ रन बनाए । त्यस्तै, बेन म्याकडेरमोटले ३५ रन बनाउँदा एलेक्स केरी २० रनमा अविजित रहे ।
बंगलादेशका शोरिफुल ईस्लामले २, सकिब अल हसन र माहेदी हसनले एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बंगलादेशका कप्तान महमुदूल्ला रियादले सर्वाधिक ५२ रन जोडे । त्यस्तै, शकिब अल हसनले २६ रन जोड्दा आफिफ होसेनले १९ रन बनाए ।
अष्ट्रेलियाका लागि युवा तीव्र गतिका बलर नाथन एलिसले विश्व कीर्तिमानी ह्याट्रिक गरे । उनी टि२० आई क्रिकेट इतिहासमा डेब्यू खेलमा ह्याट्रिक गर्ने पहिलो बलर बनेका हुन् । त्यस्तै, जोस हाजलउड र एडम जाम्पाको नाममा २/२ विकेट रह्यो ।
यससँगै बंगलादेशले सिरिज दुई खेल अगाबै जितेको छ । यसअघि बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले पराजित गरेको थियो । बंगलादेशले पहिलो पटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस