काठमाडौं - उरुग्वेका सर्वाधिक गोलकर्ता लुइस सुआरेजले आगामी शनिबार पाराग्वेविरुद्धको विश्वकप छनोट खेल नै राष्ट्रिय टोलीबाट अन्तिम हुने घोषणा गरे

उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । विश्वकप दक्षिण अमेरिकी छनोटमा आगामी शनिबार पाराग्वेविरुद्धको खेल नै अन्तिम भएको सुआरेजले घोषणा गरेका छन् । उरुग्वेका फुटबलरमध्ये व्यावसायिक क्षेत्रमा सर्वाधिक सफल सुआरेजले इंग्लिस प्रिमियर र स्पेनिस लिग खेलेका थिए । लिभरपुलबाट बार्सिलोनामा आबद्ध हुँदा उनले लियोनल मेसीसँगै नेमार जुनियरसँग सहकार्य गर्न अवसर पाएका थिए । सुआरेज, मेसी तथा नेमार रहेको बार्सिलोना त्यसवेला उत्कृष्ट फिनिसिङ युरोपियन क्लबका रूपमा रहेको थियो । 

उरुग्वेका सर्वाधिक गोलकर्ता सुआरेजले एक सय ४२ खेलमा ६९ गोल गरेका छन् । उनले सन् २००७ को फेब्रुअरीमा कोलम्बियाविरूद्ध अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । मंगलबार सन्न्यास घोषणा गरेको क्षणमा उनी खुसी नै देखिन्थे । ‘राष्ट्रिय टोलीसँग मेरो अन्तिम खेल खेल्दै आराम गर्न चाहन्छु । पाराग्वेसँगको खेल नै उरुग्वेबाट मेरो जीवकै अन्तिम खेल हुनेछ,’ सुआरेजले भने, ‘सन्न्यास लिने क्षणका लागि उत्साहित छु । सन् २००७ मा पहिलोपटक मेरो राष्ट्रिय टोलीबाट खेल्दै थिएँ ।’

उनले १७ वर्षअघिको युवा अहिले अनुभवी खेलाडी बनेको स्पष्ट पारेका छन् । ‘त्यसवेलाको १९ वर्षीय केटा अहिले एक अनुभवी र एक पुरानो खेलाडी बनेका छन्,’ उनले भने । सुआरेजले उरुग्वेबाट नौवटा प्रम्ुख अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । सन् २०१० को विश्वकपको क्वार्टरफाइनलको इन्जुरी समयमा घानालाई सेमिफाइनलमा पुग्नबाट रोक्न उनले गोल लाइनमा ह्यान्ड गरेका थिए । उनले रातो कार्ड पाएका थिए । 

कोपा अमेरिका विजेता

राष्ट्रिय टोलीबाट सुआरेज अमेरिकाका प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका जितेका छन् । सन् २०११ मा अर्जेन्टिनामा भएको कोपा अमेरिकामा उरुग्वेले उपाधि उचाल्दा उनले चार गोल गरेका थिए । 

त्यस प्रतियोगितामा उनी प्रतियोगिताको दोस्रो सर्वाधिक गोलकर्ता बनेका थिए । २०१४ को विश्वकपमा उनले उरूग्वेलाई समूह चरणमा इंग्ल्यान्डविरुद्ध दुई गोल गरेका थिए । समूहको अन्तिम खेलमा इटालीका डिफेन्डर जर्जियो चिलिनीलाई टोक्दा उनी विवादित बने । त्यसपछि फिफाले उनलाई नौ खेलको अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका कारण उनले २०१५ कोपा अमेरिका गुमाएका थिए । उनले २०१८ र २०२२ को विश्वकप पनि खेलेका थिए । उनले कोपा अमेरिकाको पाँच संस्करणमा सहभागिता जनाए ।