काठमाडौं - नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाटले यूएफसी छनोट प्रतियोगिता ‘रोड टु युएफसी ५’ मा शानदार जित हाँसिल गरेका छन्।

चीनको मकाउमा सम्पन्न प्रतियोगिताअन्तर्गत ब्यान्टमवेट विधाको क्वाटरफाइनल चरणमा ढाटले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गर्दै पराजित गरेका हुन्।

खेलको पहिलो र दोस्रो दुवै राउन्डमा ढाट प्रभावशाली देखिएका थिए। उनी विपक्षीमाथि लगातार दबाब बनाउँदै एकपक्षीय रूपमा प्रस्तुत भएका थिए। अन्ततः दोस्रो राउन्डमै निर्णायक प्रहार गर्दै उनले स्पष्ट जित निकाले। ढाटको यो जितसँगै उनी प्रतियोगितामा थप चरणतर्फ अघि बढेका छन्।

यसअघि गतवर्ष  म्याट्रिक्स फाइट नाइट १७ ९एमएफएन १७० मा नेपाली एमएमए फाइटर ढाटले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका थिए । 

ऐतिहासिक जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका थिए ।  शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरेपनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए।

तेस्रो राउण्डमा खेलको मोड बदलियो। रवीन्द्रले तीव्र गतिमा प्रहार गर्न थालेपछि कोरेनलाई गम्भीर संकटमा पार्‍यो। अन्ततः निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके र रवीन्द्रलाई टीकेओ द्वारा विजेता घोषित गरे।